लाल बहादुर एस. के.
कञ्चनपुर
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ९ सिताबस्तीमा आयोजित प्रथम नवोदय कप खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि आयोजक श्री नवोदय जीवन शक्ति युवा क्लब पुनर्वासले हात पारेको छ ।
सिताबस्तीको खेल मैदानमा भएको अन्तिम खेलमा आयोजक नवोदय बि ले भानु युवा क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको छ । विजेता बनेको आयोजक नवोदय बि ले नगद रू. १ लाख १० हजार १ सय १० रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको भानु युवा क्लबले नगद रू. ५५ हजार ५० रकम सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिता अवधि भरि सबैभन्दा बढी गोल गर्ने राम युवा क्लबका रुपचन तामाङलाई नगद रू. ५ हजार सहित ट्रफी प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा उत्कृष्ट गोल रक्षक आयोजक नवोदयका कुम्भ देउवालाई नगद रू. ५ हजार सहित ट्रफी प्रदान गरिएको छ । प्रतियोगितामा बेष्ट फर्वाडको उपाधि आयोजककै सिमल ओलीलाई पनि नगद ५ हजार सहित ट्रफी प्रदान गरिएको क्लबका अध्यक्ष कर्ण बहादुर ऐडीले बताउनु भयो । बैशाख २ गतेबाट सुरु भएको फुटबल प्रतियोगितामा आयोजकका ३ सहित २१ टिमको सहभागिता रहेको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा 'पातल' ले खेलकुदको क्षेत्रमा पुनर्वास अग्रपंक्तिमा रहेको उल्लेख गर्दै खेलका अन्य विधालाई पनि अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले खेलकुदका गतिविधिलाई चलायमान बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा वडा अध्यक्ष नर बहादुर बि.क., वडा सदस्यहरू, निवर्तमान वडा अध्यक्ष नारायण जैशी लगायत खेलकुद क्षेत्रमा क्रियाशील व्यक्तिहरू, सुरक्षाकर्मी, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी समेतको उल्लेख्य सहभागीता रहेको थियोे ।
