सुदुर पश्चिम खबर सम्बाददाता
महेन्द्रनगर
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीबाट राजीजामा दिएको अढाई वर्षपछि प्रदेश सभा सदस्य प्रकाश रावल आर्थिक मामिला तथा योजना मन्त्री भएका छन् । भाँसीस्थित जनज्योति क्याम्पसको शेयर विवादमा मुछिएपछि उनले २०७६ कार्तिक मन्त्री पदबाट राजीनामा दिएका थिए ।
‘ममाथि लगाइएको आरोपको निष्पक्ष र सत्यतथ्य छानबिन होस्, छानबिनमा मेरो पूर्ण सहयोग रहने छ, न्याय स्थापित होस् भन्ने मान्यताले राजीनामा दिएको हुँ’ मुख्यमन्त्री त्रिलोभन भट्टलाई बुझाइएको राजीनामा पत्रमा भनिएको थियो ।
राजीनामा दिएको अढाई वर्षपछि शुक्रबार मन्त्री रावलले फेरि मुख्यमन्त्री भट्टकै उपस्थितिमा आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ खाएका छन् । समाजवादीका नेता तारालामा तामाङ्गलाई विस्थापित गरी उनी मन्त्री बनेका छन् ।
एमालेमा तत्कालिन माधव नेपाल समूहका दुबै नेता पार्टी विभाजनपछि समाजवादी लागेका थिए । एमाले छाडेर समाजवादी जाँदा नै रावलले मन्त्री बन्ने इच्छा देखाएका थिए ।
उनले मन्त्री बन्नका लागि काठमाडौ गएर समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई समेत भेटेका थिए । मन्त्री नभएपछि उनले आफू निकटस्थहरुलाई धोका पाएको बताउने गरेका थिए ।
एमाले विभाजन हुँदा पनि उनी केही दिन अघि एमालेमा बसेका थिए । मन्त्री पाउन भएपछि मात्रै समाजवादी गएका थिए । एमाले नेता भीम रावलका नातेदार भएकाले उनी समाजवादी नजाने आशंका गरिएको थियो ।
भीमदत्त नगरपालिका ६ ऐठपुरका रावल २०७४ मा एमालेबाट निर्वाचन क्षेत्र नं ३ ‘क’ बाट प्रदेश सभा सदस्य भएका थिए । उनी २०७५ असोज २३ गते प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण राज्य मन्त्रीमा नियुक्त गरिएका थिए । भीम रावल नजिक भएका कारण उनलाई मन्त्री बनाएको भन्दै केहीले आलोचना समेत गरेका थिए ।
एमालेको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रावल समाजवादी गएपछि कञ्चनपुर सह इन्चार्ज भएका छन् । उनीसंगै कञ्चनपुरका अर्का प्रदेश साँसद कुलबीर चौधरी भौतिक पूर्वाधार राज्यमन्त्री भएका छन् ।
कमेन्ट गर्नुहोस्