मिरा जोशी
(सुचना अधिकारी) खप्तड छेडेदह गाउँपालिका
कुनै पनि नारीहरु प्रत्येक महिनाको एक वा कोही दुइ पटक महिनावारी हुने गर्दछ्न । यो महिलाहरुको मासिक धर्म पनि हो ।
कुरीति कुसंस्कारमा सोचमग्न भएको हाम्रो यो समाजले यही महिनावारी भएको १ देखि ५ दिनको अवधीको महिला दिदीवहिनीहरुलाई छाउपडी भन्छन् ।
छाउपडि प्रथा सामान्य रुपमा नेपालकै समस्या भएतापनि विषेश गरी मध्यपश्चिम तथा सुदुरपश्चिमका पहाडी जिल्ला दार्चुला, बैतडी, बझाग, डँडेल्धुरा, बाजुरा र अछाम जिल्लाहरुमा यो पर्थाले विशेष जरा गाडेको छ । उसो त पहाडी जिल्लामा मात्रै होइन अहिलेको प्रदेश राजधानी भएको कैलाली र कन्चनपुरमा पनि यो प्रथा व्यापक नै छ ।
सबै भन्दाबढी कैलालीको राजधानी भनेर नामांकित भएको अत्तरीयामा त यो प्रथाले निकै चर्को रुप लिएको छ ।
कैलालीको मालिका टोल कन्चनपुरको दोधारा चाँदनी लगाएतका क्षेत्रमा अहिले पनि खुलेयाम छाउगोठमा महिनावारी भएको समयमा महिला सुतेको भेटिन्छन् ।
यो एक प्रकारको सामाजि कलङ्क हो । मानव अधिकारको हनन गर्ने कुप्रथा हो । सामाजिक विकृतीको रुपमा रहेको छाउपडी प्रथाले महिलाहरुको स्वास्थ्य सँगै बालवालिकाहरुको ज्यान जोखिममा पार्दै आएको छ ।
एकातीर महिलाहरुको अधिकारको हनन हुने कार्य भएको छ भने अर्को तर्फ यसले हजारौ महिला दिदीवहिनी बलात्कारको सिकार हुन परेको छ ।
यो कुपर्था महिलाका लागि सामाजिक न्याय, समानता र विकसित वाधक बन्दै आएको छ । नेपालमा झन्डै आधा जमिन महिलाहरुको सङ्ख्याले नै ओगटेको छ ।
१८२५ देखि २०७८ साल आइपुग्दा सम्म पनि नेपालमा यो कुप्रथाको अन्त्य भएको छैन् । दिनानुदिन महिलाहरुले कुनै न कुनै किसिमको याताना भोग्दै आउनु परेको छ । यस प्रथाबाट कयौँ नारी प्रभावित भएका छन । कोही नारी सर्पको टोकाइबाट ज्यान गुमाइ रहेकी छन् भने कोही नारीले कलङ्कित पुरुषको बलात्कारबाट ज्यान गुमाइ रहनु परेको छ ।
प्रम्परागत मुल्य र मान्यता, अनुसार देवि, देउता, धर्म सस्कृती आदीको नाममा यो प्रथाले प्रभाव पारेको छ । यो कुप्रथा उल्मुलनका लागि विभिन्न सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकाय निर्देशन कार्यविधिको उल्लेखनिय योगदान दिदा पनि बाह्र वर्ष सम्म कुकुरको पुच्छर ठेलुमा हाल्दा पनि बाँङ्गै भएझै भएको छ ।
अझै बाजुराको हिमाली, बूढीगङ्गा, त्रिवेणी, बडिमालिका लगाएतका स्थानीय तहमा महिला तथा किशोरीहरु लागि यो छाउप्रथा काल नै बनेको छ । यसै परिवेशमा भन्नुपर्दा हाम्रो बाजुरा जिल्ला खप्तड छेडेदह गाउँपालिका पनि अछुतो रहन सकेको छैन । छाउपडीको समयमा सार्वजनिक स्थान धारा, पँधेरो, मठ मन्दिरमा प्रवेश निषेध गरिन्छ । महिला महिनावारी भएको बेला दुध, दही, मही जस्ता पोषिला खाने कुरा खान दिएको छैन् । स्वास्थ्यको कुरा गर्ने हो महिनावारी भएका बेला प्रशस्त मात्रामा दुध दहि महि लगायतका झोलिला खाने कुरा खान दिनु पर्छ भन्ने सन्देश दिएको छ ।
तर कान भएर नसुन्ने आँखा भएर नदेख्ने गोडा भएर नहिड्ने सक्ने तुच्छ समाजका लागि भने यो कुरा बालुवामा पानी हालेझै भएको छ । कुनै कुनै परिवेशमा त अझै पनि छाउपडी अवस्थामा घर भित्र बस्न नमिल्ने छाउगोठमा बस्ने, दैनिक कार्य समेत गर्न बन्देज गरिएको पाइन्छ ।
हुन त यो कुरा समाजमा पढेलेखेका र शिक्षित् बनेको महिलाबाट नै यो प्रथा अगालिदै आएको छ । दिनमा अफिसमा सभा गोष्टि सेमिनार तथा कार्यालयमा छाउप्रथाको बोरमा प्रशिक्षण गर्दै आएको भएपनि घरमा आएर उनीहरु छाउगोठमा सुतेका तमाम उदाहरण समाजमा देखा पर्छन् ।
यसरी पढेलेखेका र जागिरे महिलाबाट नै यो प्रथा कायम हुन्छ भने गाउँका ती सोझा साझा महिलाबाट के परिवर्तन हुन्छ । छाउपडि प्रथाबाट समाजमा थुप्रै घटनाहरु घटेको र भोगेको भएता पनि विशेष गरि महिला किशोरीहरुको जीवनमा विभिन्न तरिकाले घटना भएका हुन्छन् । छाउ प्रथाकै कारण २०७६ माघमा बूढीनन्दाको अगाउँपानीमा छाउगोठमा आगलागि हुँदा आमा दुई छोरा सहित तीन जनाले ज्यान गुमाएका थिए ।
यो प्रथाका कारण स्वास्थ्य स्थिति तथा महिलाको शारीरिक मानसिक अवस्था पनि दिनानु दिन कमजोर हुँदै गएको छ ।
कयौ महिला पठन पाठन गर्न विद्यालय जान बन्देज भएका छन् । भने कयौ महिला दम, प्यारलाइसिस र बाथ रोगको सिकार भएका छन् ।
महिनावारी भएका बेला एक छुट्टै अधेरो छाउगोठमा बस्नुपर्दा, जनावर, सर्प,आदीको सिकार बन्नु परेको महिलाहरुको गुनासो छ । धारा कुवा, पँधेरोका साथै शौचालय समेत जान नपाईने हुँदा यो अवस्थामा शारीरिक मानसिक रुपमा नकारात्मक असर परेको छ ।
अन्त्यमा भन्नु पर्दा यो एक सामाजिक तथा संरचनात्मक कुप्रथा विकासको बाधकको रुपमा लिइएको हुँदा यसलाई सबै महिलाहरुले बुलुन्द आवाज उठाउनु पर्ने आजको अति आवश्यक छ । महिलाहरु महिनावारी भएका समयमा बालवालिकाहरु पनि साथै जाने भएकोले उनीहरुको समेत स्वास्थ्यमा असर पर्दै गएको छ ।
बालबालिकामा समेत नकारात्मक असर परेपनि मानव दानवमा परिणत भएपछि कयौ बालवालिकाहरुले पनि आमासँगै अकालमा ज्यान गुमाउनु परेको छ । समृद्ध समाजको परिकल्पनाका लागि समयमै यो प्रथाको अन्त्य हुनु जरुरी छ । यो प्रथा अँगाल्दै आउने जो कोहीलाई स्थानीय सकारले पनि कानुनी कारवाही गर्दै जाने हो भने यसको अन्त्य हुनसक्छ ।
कमेन्ट गर्नुहोस्